छिटो क्वारेन्टाइनमा लैजाऊ

अनन्त कुमार पाैड्याल

लघुकथा
टन्टलापुर घाम लागेको छ । सुन्तली लुगा धोएर सुकाउँदै छे । तर उसको मनमा एउटै चिन्ता छ । धेरै भो विदेशबाट आइएमई मा रेमिटेन्स लिन नबोलाएको । अलि अलि भएको खर्चपानी पनि सकियो । फिस छीटो लिएर आउनू, नत्र रिजल्ट रोकिन्छ भनेर छोरीलाई स्कुलले भनेको भनेकै छ । दोकानमा बाँकी धेरै पुगिसक्यो । अब उधारो लिन लाज पनि लागि सक्यो । गाउँको घर पनि छाडेर शहर आएर भाडामा बसियो । घरधनीले भाडा मागेकी मागेकै छे । विदेशबाट फोन पनि नआएको एक हप्ता भयो । आज बिहानदेखि बाडुली लाग्या छ । सबै तिर “कोरोना आई, कोरोना आई” भन्छन् । बोक्सी ही कि भूतनी हो । घरबाट बाहिर जानुहुँदैन भन्छन् । अब के खाने होला । के गर्ने होला । यस्तै यस्तै सोच्दै थिई । यत्तिकैमा परबाट एक जना पुरुष आएको देखी सुन्तलीले । हो कि होइन भन्दै थी । नजिक आएपछि चिनी । आफ्नै मान्छे पो रहेछन् । दौडेर गई । च्याप्प समाउन खोजी । उसले भन्यो, “ए, ए, नछोऊ अछोऊ, परै बस । कोरोना लागेका मान्छे सित पिलेनमा कोचेर नेपाल पठाइदियो । क्वारेन्टाइनमा जान्छु । कहाँ छ, चाँडै लैजाऊ ।”
सुन्तली वरै बसेर किंकर्तव्यविमुढ भई ।
हाल: कोहलपुर ।

सम्बन्धित समाचार