छिटो क्वारेन्टाइनमा लैजाऊ-भाग २

अनन्तकुमार पौड्याल

ऊ क्वारेन्टाइनमा जानु परेपछि पहिलो दिन त रोएरै रात काटी, सुन्तलीले । तर केही राहत भा’छ । घर भाडा पूरै एक महिनाको छुट । अहिले स्कुलको रिजल्ट नहुने भएकाले फिस तिर्ने चटारो परेन । बाँकी माग्ने दोकानेहरु सबै शहरै छाडेर भागे । राहतका दालचामल कोठैमा फिरी आइपुग्छ । मोबाइल फोनमा पनि छुटै छुट । क्वारेन्टाइनमा भए पनि ऊसित मनग्गे कुरा गर्न पाएकी छे । क्वारेन्टाइनमा थोरै छन् । सुविधा राम्रो छ । नराम्रो रिपोर्ट छैन भन्ने सुनेर सुन्तली उत्साहित छे । यता घरमा सोध्न आउने मान्छेलाई चिया पकाएर दिँदा दिँदा हैरान भा’छे ।
हिजो अस्ति अब बोका पूजा गर्ने भनेर बोका डुलाउँदै चन्दा उठाउन आएका थिए । बोका छोएर पैसा र फूलपाति दिएकी थिई । तर देवीथानमा बोकाले पर्छिन मानेन, बली पनि दिइएन । अब के गर्ने भनेर छिमेकीको आँगनमा बैठक बस्यो । ऊ पनि सुन्न गई ।
राती आकासमा उज्यालो ठूलो चिज बल्दै जमिनतिर खसेको देखी । खुब डराई सुन्तली । भोलिपल्ट बिहानै बाहिर निस्केर हेरी । छिमेकीहरुले घर अगाडिको आँगन खनेर केही निकालेको देखी । दौडेर हेर्न गई । कोही जरो आयो भन्दै थिए । कोही खोक्दै थिए । रोग लाग्दैन भनेर कालो टिका लगाए । सुन्तलीलाई पनि लगाइदिए ।
केही दिनपछि सुन्तलीलाई सन्चो नभएजस्तो महशुश भयो । बाहिर भिँडभाडमा नजानू भनेको सम्झी । शङ्का लाग्यो । बुढालाई फोनमा सुनाऊँ कि नसुनाऊँ भयो ।
ऊ क्वारेन्टाइनबाट सकुशल फर्केर आयो । सुन्तलीले पनि देखी । ऊ सुन्तली नजिक गयो । सुन्तलीले भनी
“ए, ए, बुढा नछोऊ नछोऊ । मैले गल्ती गरेँ । केके जाति लागेको शङ्का भो । मलाई क्वारेन्टाइनमा लैजाऊ ।”
यस पटक ऊ किंकर्तव्यविमुढ भयो ।


ताजा समाचार

error: Content is protected !!