लकडाउन बाट प्रभावित कृषकलाई राहत दिन प्रदेश ५ सरकारले ल्यायो “कोभिड बिशेष कृषि कार्यक्रम”

बुटवल ।
प्रदेश ५ सरकारले कोभिड-१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया बिनीयोजन गरेको छ ।
काेराेना महामारीका कारण देशमा लकडाउन भएपछि किसानहरु समस्यामा परेकाे कारण कृषि पेशाबाट बिचलित नभई कृषि कर्ममा लागेर निरन्तर उत्पादनमा लागुन भनेर यस्ताे याेजना ल्याइएकाे प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री अारति पाैडेलले बताउनु भयाे।

प्रदेश सरकारले कृषिमा बिनियोजन गरेको बजेट कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख, विभिन्न जिल्लामा बेमौसमी अालु उत्पादनका लागि १ करोड २० लाख रुपैंया बिनियोजन गरेको छ । यो कार्यक्रमाट करिव ५ सय किसान लाभान्वित हुने प्रदेश ५ सरकारले अपेक्षा गरेको छ

यसैगरी दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा व्यवसायिक तरकारी उत्पादन गर्न प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्ने समेत प्रदेश सरकारले निर्णय गरेको छ । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेका किसानलाई मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिईने छ । सरकारले यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च गर्नेछ ।
मन्त्री परिषदको बैठकले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख बजेट छुट्याएको छ । यो कार्यक्रम १ सय ९ वटै पालिकामा लागु हुनेछन् । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सरकारले सहयोग गर्ने कृषि तथा सहकारी मन्त्री पाैडेलले जानकारी दिनु भयो । यो कार्यक्रममा प्रति किसान २० हजारका दरले अनुदान दिईने छ भने कार्यक्रमबाट १० हजार ९ सय लाभान्वित हुने सरकारले प्रक्षेपण गरेको छ ।

सरकारले बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया छुट्याएको छ । १२ वटै जिल्लामा सञ्चालन हुने कार्यक्रममा प्रति बिघा २० हजार रुपैंयाका दरले अनुदान दिने तथा २ हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले कुखुरा पालन, दुघ्द उत्पादन, पशुपालन जस्ता कार्यक्रमका लागि पनि बजेट ब्यवस्था गरेको छ । सरकारले बिनियोजन गरेको बजेट असार मसान्त भित्रै खर्च गर्नुपर्ने समेत ब्यवस्था गरिएको कृषि तथा सहकारी मन्त्री पाैडेलले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार