नेकपाले प्रस्तावकाे पक्षमा मतदान गर्छ- प्रमुख सचेतक ढकाल

 

रुपन्देही असोज १७ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलले दाङको भालुवाङ राजधानी र लुम्बिनी नाम राख्ने प्रदेश सरकारको प्रस्तावलाई समर्थनसहित मतदान गर्ने निर्णय गरेको छ।
आज बसेकाे प्रदेश ५ नेकपा संसदीय दलकाे बैठकले प्रस्तावकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयाे।
आजकाे बैठकमा केही सांसदले उक्त निर्णयमा असन्तुष्टि जनाउदै नाेट अफ डिसेन्ट लेखेका थिए। निर्णयमा असन्तुष्टि जनाए पनि पार्टीको ह्विपभने पालना गर्ने प्रमुख सचेतक ढकालले बताउनु भयाे।

प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ्गमा राख्ने प्रस्ताव पारित गरेको थियो ।

सरकारको प्रस्ताव प्रदेशसभामा छलफलका लागि शुक्रबार पेस भएको छ । सोमबारदेखि चल्ने प्रदेशसभाको छलफलमा पनि आफ्ना भनाइ राख्ने र मतदान प्रक्रियामा सहभागी हुँदा सरकारको निर्णयको पक्षमा मतदान गर्ने निर्णय भएकाे प्रमुख सचेतक ढकालले बताउनु भयाे।

बैठकमा नेकपाका ६१ मध्ये ५७ जना सांसद उपस्थित थिए । नेकपा प्देश ५ का सांसदमध्ये तत्कालीन राप्ती र भेरी अञ्चल क्षेत्रका प्रदेशसभा सदस्यले सरकारको निर्णयको स्वागत गरेका छन भने रूपन्देही र कपिलस्तुका प्रदेशसभा सदस्यले सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ७ प्रदेशमध्ये नमुना राजधानी बनाउने सरकारको संकल्पका साथ प्रदेश राजधानीका लागि नयाँ स्थान प्रस्ताव गरिएको बताउँदै त्यसमा समर्थन गर्दा कुनै पनि माननीय सदस्यले पछुतो मान्नु पर्ने अवस्था नहुने भन्दै प्रस्तावकाे पक्षमा मतदान गर्न अनुराेध गर्नुभएकाे बताइएकाे छ।

प्रदेश ५ मा नेकपाको दुई तिहाई मत रहेको छ । यस प्रदेशमा नेकपा का ६१, विपक्षी नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सांसदहरु रहेका छन ।

सम्बन्धित समाचार